भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणले गति लिन नसकेकोमा असन्तुष्टि जनाएका छन्। सरकारले मेलम्चीलाई राष्ट्रिय गौरवका आयोजनामा समेटेपछि विभागीय मन्त्रीको नाताले त्रिपाठी पहिलो पटक आयोजनाको कामबारे जानकारी लिन आएका थिए , आयोजनाका कार्यकारी निर्देशक कृष्ण आचार्यसहित दुई दिन स्थलगत अवलोकनमा बिताएका उनले सुरुङ निर्माण सुस्त भएकोमा चिन्ता जनाए। 'सुरुङ निर्माण सन्तोषजनक छैन। ठेकेदारलाई सतर्क गराउनुपर्ने खाँचो छ,' त्रिपाठीलाई उदृत गर्दै कार्यकारी निर्देशक आचार्यले नागरिकसँग भने। मुहानस्थल अम्बाथान, ग्याल्थुम र सिन्धु अडिटमा पुगेर निर्माणाधीन सुरुङको अवलोकन गरेका उनले आयोजनाको प्रगतिबारे अधिकारीसँग जानकारी दिएका थिए। आयोजनाका अधिकारीले सुरुङ निर्माणले गति लिन नसक्नुको कारण र समस्या त्रिपाठीलाई अवगत गराए। 'ठेकेदारले प्राविधिक समस्या मात्र दर्शाइरहेको छ,' आचार्यले निर्माण ढिलाइ हुनुमा ठेकेदार कम्पनीलाई औंल्याए।
आयोजनाका अनुसार शिलान्यास गरेको ३० महिना बितिसिक्दा भर्खर करिव चार किलो मिटर सुरुङ खनिएको छ। चिनियाँ कम्पनी चाइना १५ ब्युरो रेल्वे कपोरेशनले अम्बाथान–सुन्दरीजल साँढे २६ किलोमिटर सुरुङ चार वर्षमा सक्ने सम्झौतामा ठेक्का सकारेको थियो। सन् २००९ अप्रिल २१ मा काम गर्ने साइड पाएको कम्पनीले एक वर्षपछि मात्र निर्माणको काम थालेको थियो। २०६६ साउन १९ गते तत्कालीन प्रधान मन्त्री माधवकुमार नेपालले सुरुङमार्ग शिलान्यास गरेका थिए।
हालसम्म अम्बाथान अडिटबाट ९ सय, ग्याल्थुमबाट २ सय, सिन्धुबाट १३ सय र सुन्दरी जलबाट १७ सय मिटर सुरुङमार्ग निर्माण भएको छ। यसै महिनाबाट चार टनेलको सात स्थानबाट सुरुङ खन्न थालिए पनि निर्माणले अपेक्षित गति लिन सकेको छैन। सुरुदेखि नै सातै स्थानबाट खन्ने योजना रहे पनि अढाइ वर्षपछि मात्र थालिएको छ। दैनिक ३५ मिटर खन्ने सम्झौता कम्पनीले गरेकोमा १८ मिटरबाट बढ्न सकेको छैन। 'डिसेम्बरमा महिनामा ५ सय मिटर पुगेकोमा जनवरीदेखि २ सय मिटरमा झरेको छ,' कार्यकारी निर्देशक आचार्यले भने। वार्षिक ९ किलोमिटरका दरले सन् २०१३ सेप्टेम्बरमा सुरुङमार्ग सम्पन्न गर्ने सरकारको लक्ष्य थियो। तर चार किलोमटिर सुरुङ खन्नमै ठेकेदारले ३० महिना व्यतीत गरिसकेको छ। यतिबेलासम्म झण्डै १८ किमी बनिसक्नुपर्थ्यो।
No comments:
Post a Comment