रेखाको UTL चित्र तथा चपली हाइट हटाउने ट्राफिक प्रहरी प्रमुख गणेश राइसँग साप्ताहिकका प्रतिनिधि अश्विनी कोइराला र फोटो पत्रकार नवराज वाग्लेले गरेको भलाकुसारी..........
जस्ताको तस्तै
पहिले पनि सहरमा ट्राफिक प्रहरी तैनाथ थिए, अहिले उनीहरूको सक्रियता बढेको छ, उनीहरूलाई कुन गोली ख्वाउनुभयो ?
सबैको ड्युटी त्यही हो। पहिलेको तुलनामा सहरमा ट्राफिक प्रहरीको सक्रियता बढेको छ भने त्यसको जस सबै प्रहरीलाई जान्छ। प्रमुख भएका नाताले मैले नीति-नियमका विषयमा स्पष्ट निर्देशन दिने हो। त्यसमा मैले कन्जुस्याइँ गरेको छैन।
यो त औपचारिक कुरा भयो, ट्राफिक प्रहरी पहिलेभन्दा फरक देखिनुको कारण के हो ?
बोल्ड डिसिजन। सहरमा ट्राफिक बेथिति बढी नै थियो। दुर्घटनाको दर घट्न सकेको थिएन। त्यसलाई रोक्न केही अप्रिय निर्णय गर्नैपर्थ्यो। यसअघि अप्रिय निर्णय गर्न डराएको अवस्था थियो, मैले त्यो डर त्यागें। म जहाँ पनि ब्रह्मले देखेको कुरा गर्छु, माथिको आदेश के छ भनेर कुरेर बस्दिनँ।
तपाईंले गरेको पहिलो अप्रिय निर्णय के थियो ?
ट्राफिक आइल्यान्ड भत्काउने निर्णय नै अहिले आएर अप्रियजस्तो देखियो। दुई महिनाअघि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्सअगाडिको आइल्यान्ड भत्काउने निर्णय गरें। त्यस क्षेत्रमा ट्राफिक जामको ठूलो समस्या थियो। नगरविकाससँग डोजर मागेर त्यो आइल्यान्ड भत्काउने क्रममा सहरमा बाटो मिचेर बनाइएका घर-टहरा किन नभत्काउने भन्ने छलफल भयो। प्रधानमन्त्रीले सहरको ट्राफिक जामका विषयमा गुनासो गरेपछि मैले एउटा कार्यपत्र प्रस्तुत गरेर कसरी समस्या समाधान गर्न सकिन्छ भनेर केही बुँदा प्रस्तुत गरेको थिएँ। त्यो आइल्यान्ड भत्काउने क्रममा नगरविकास प्रमुख भाइकाजी तिवारीसँग मेरो मन मिल्यो। त्यसपछि धमाधम कानुनविपरीत बनेका घर-टहरा भत्काइए। अहिले सहरमा थोरै भए पनि जुन खुलापन आएको छ, त्यो अप्रिय निर्णयकै कारण आएको हो।
उनिहरुको हर प्रश्नमा खरो देखिएका गणेश राइ सडक चौडा पार्ने अभियानले जनसमर्थन पाएपछि त्यसको जस लिनेहरूको ताँती लागेको छ, तपाईंले पनि जस लिन खोज्नुभयो, वास्तविकता के हो ? भन्ने प्रश्नको उत्तर यसरी दिनिहुन्छ।
फिल्डमा खट्ने ट्राफिक प्रहरी हो। ट्राफिक जामको समस्या अनुभव गर्ने र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर अनुसन्धान गर्ने पनि हामी नै हौं। रातोदिन लागेर सडक चौडा पारेपछि जस लिन खोज्नु सामान्य हो। हिजो यही काम गर्दा माथिबाट यो काम गाह्रो छ भनेर हतोत्साहित गर्ने काम भएको थियो। अहिले काम भएपछि जस लिन खोज्नुलाई मैले अन्यथा लिएको छैन। किनभने यो सामूहिक काम हो, योगदान गर्नेहरूको नाम आउनुपर्छ।
भिआइपीका कारण जनताले सडकमा सास्ती पाइरहेको कुरा छ, केही सुधार देखिएको थियो, फेरि समस्या जहाँको तहीँ छ, के भएको हो ?
म ट्राफिक प्रहरी प्रमुख भएर आउनेबित्तिकै राष्ट्रपतिको सवारीमा जनताले सास्ती पाए भन्ने खबर आयो। त्यसलाई कम गर्न मैले मूल सडकबाट सवारी नचलाएर कहिले छोटो सडक र कहिले रिङरोडबाट सवारी चलाएँ। एक महिनाजति त त्यसले राम्रै काम गर्यो, तर राजतन्त्रका पालादेखि जुन प्रोटोकलमा काम हुन्थ्यो, मैले त्यसलाई तोडेको रुचाइएन। भिआइपीको सुरक्षा हेर्ने भिन्दै संयन्त्र छ, त्यसमा ट्राफिक प्रहरी एउटा सदस्य हो। सुरक्षा र प्रोटोकल देखाएर मूल सडकबाट सवारी चलाउन थालेपछि समस्या बल्झिएको हो। यद्यपि अति औपचारिक कार्यक्रममा बाहेक मैले दुईतर्फी आवागमन बन्द गरेको छैन।यसमा कतिपयले तपाईंको आर्थिक लोभलाई कारण मानेका छन्, के भन्नुहुन्छ ?
स्कुल बस प्रकरणको प्रारम्भ अफिस समयमा हुने ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यबाट सुरु भएको थियो। निजी विद्यालय र क्याम्पससँग सरोकार राख्ने संघ-संस्थालाई अफिस समयमै स्कुल बस नचलाउन के गर्नुपर्छ भनेर हामीले छलफल चलाएका थियौं। त्यस क्रममा जानकारी दिएरै २० वर्ष पुराना बसलाई कारबाही गर्ने, क्षमताभन्दा बढी विद्यार्थी बोक्ने स्कुललाई कारवाही गर्ने निर्णय गरिएको थियो। फिल्डमा खटिँदा कतिसम्म पायौं भने शिक्षक सिटमा बसेका अति विद्यार्थीचाहिँ उभिएका रहेछन्। पैसा विद्यार्थीसँग असुल गर्ने अनि शिक्षक सिटमा बस्ने अनौठो परम्परा देखियो। स्कुलले ४१ वर्ष पुराना गाडीसमेत चलाइरहेको पाइयो। अब आफूले सोचेजस्तो नहुँदा आर्थिक कारोबारको कुरा उठाउनु त हाम्रो संस्कार नै भैसक्यो नि, होइन ?
तपाईं सिभिल प्रहरीको मान्छे, बिना कुनै अनुभव एकैपल्ट सोर्स-फोर्सकै भरमा ट्राफिक प्रहरी प्रमुख हुनुभयो, अलिकति शंका त भैहाल्छ नि, होइन र ?
हरेक क्षेत्रमा प्रतिस्पर्धी हुन्छन्, मेरा पनि छन्। म लामो समय सुदूरपश्चिम र बिग्रँदो राजनीतिक अवस्थामा तराई बसेर आएको मान्छे। धेरै वर्ष ओझेलमा बसेर काम गर्दा कहिलेकाहीँ फ्रन्टमा काम गर्ने इच्छा हुन्छ। त्यही इच्छाबमोजिम म यहाँ आएको हुँ। मेरा बारेमा अलि नेगेटिभ कुरा आएपछि म काम गरेरै देखाउँछु भनेर इगो लिएको हुँ। यसलाई पोजेटिभ इगो मान्न सक्नुहुन्छ। आर्थिक चलखेल गर्ने मान्छे भएको भए यसबेला मेरो काठमाडौंमा दुई-चार घर हुन्थे होलान्। मेरो उठबस पनि त्यस्तै हुन्थ्यो होला। २०४२ सालदेखि जागिर खाएको मान्छे, अहिलेसम्म एउटा स्पष्टीकरणसमेत पाएको छैन। यसबाट पनि मेरो व्यवहार थाहा हुन्छ।
नेपाली चलचित्रलाई सहयोग गर्नुपर्ने अवस्थामा तपाईंले त्यसका पोस्टर टाँस्न रोक लगाउनुभयो, अलि बढी भएन ?
मेरो ड्युटी के हो मलाई राम्रोसँग थाहा छ। होर्डिङ बोर्डमा टाँसिएका अश्लील चित्रका कारण करिब १० प्रतिशत दुर्घटना हुने गरेको छ। यसलाई रोक्न मैले चलचित्र 'चपली हाइट' को पोस्टरमा रोक लगाएको हुँ। त्यसमा चलचित्रको प्रचार होइन, स्त्रीको शरीरको प्रदर्शन गरिएको छ, यस्तो कार्यलाई मैले रोक्नैपर्छ। युटिएल मोबाइलमा रेखा थापाले मोडलिङ गरेकी छिन्। त्यहाँ मोबाइलको प्रचार कम, उनको तिघ्राको प्रदर्शन बढी रहेछ। तिघ्रा देखाएको उनको पोस्टर च्यात्ने पहिलो व्यक्ति मै हुँ। तपाईंका कारण सहरमा होटल-रेस्टुराँको आम्दानी सुक्यो, धेरै बेरोजगार भए भन्ने गुनासो आउन थालेको छ, के भन्नुहुन्छ ?
काठमाडौंको सडकमा राति हुने दुर्घटना जति प्रयास गर्दा पनि कम भएन। यसलाई रोक्न के गर्न सकिन्छ भनेर मेरो मथिङ्गल घुम्यो। मदिरा सेवन गरेर सवारी चलाउने चालकलाई कारबाही गर्ने जुन अधिकार ट्राफिक प्रहरीले पाएको छ, त्यो कानुन कार्यान्वयन गर्दा के हुन्छ भनेर ट्रायल मात्र के गरेको थिएँ, अचानक दुर्घटना कम हुन थाल्यो। अहिले आएको तथ्याङ्क साह्रै घतलाग्दो छ। रात्रिको समयमा पहिलेको तुलनामा ७० प्रतिशत दुर्घटना कम भएका छन्। मैले कसैको व्यवसाय घटोस् भन्ने भावनाले काम गरेको होइन, यो दुर्घटना रोक्ने प्रयास मात्र हो।
विदेशतिर एक-दुई पेग मदिरा खाएर ड्राइभिङ गर्न छुट दिइन्छ, तपाईंले त अपराधीजस्तो व्यवहार गर्नुभयो रे नि ?
विदेशमा जस्तो छुट दिन हाम्रो सडक पनि विदेशमा जस्तो फराकिलो र सुरक्षित हुनुपर्यो नि। नराम्रो कुरालाई ढाकछोप गर्न विदेशको उदाहरण दिन मिल्छ ?
कतिपय समुदायमा भोज-भतेरमा मदिरा अनिवार्य मानिन्छ, रक्सी बन्द गरेर तपाईंले संस्कृतिमाथि नै धावा बोल्नुभयो भन्ने आरोप पनि छ नि ?
म राईको छोरो। मेरो पनि संस्कार त्यही हो। संस्कार भन्दैमा कानुन तोड्न मिल्छ ? यो त पिउने बहाना मात्र हो। पाँचतारे होटलमा ५ सय रुपैयाँ पेगको रक्सी पिउनेहरूले एउटा ड्राइभर राख्न सक्दैनन् ? मैले रक्सी पिउने अधिकार खोस्न खोजेको होइन, समाज बचाउन खोजेको हो। यो अभियानका कारण समाजमा ठूलो चेन इफेक्ट परेको छ।
अश्विनी कोइरालाले सोध्ने हर टुक्रे प्रश्नको उत्तर उहा सहज तरिकाले दिनु हुन्थ्यो। कस्तो चेन इफेक्ट ? यो प्रश्नको उत्तर के थियो तल पढौ न।
अचेलका छोरा-छोरी बुबा-आमाले पार्टीमा नजा, रक्सी नखा भनेको टेर्दैनन्। यो अभियानले छोरा-छोरी खुलेआम रक्सी सेवन गरेर ड्राइभिङ गर्न छाडेका छन्। सरकारको लाख रुपैयाँको राजस्व गुम्यो होला, तर करोडौं रुपैयाँको स्वास्थ्य खर्च बचेको छ। रक्सी खाएपछि ट्याक्सी चढ्नेको संख्या बढेकाले ड्राइभरहरूले रोजगारी पाएका छन्। होटलहरूमा डाङ्डुङ बन्द भएको छ। समाज क्लिन बन्दैछ।
त्यसो भए काठमाडौं त रामराज्य नै बन्ने भयो, हैन ?
रामराज्य नै भयो त भन्दिनँ, तर अलिकति नियम-संगतचाहिँ हुन खोजेको छ। राजनीतिबाट सबै जना निराश भएका बेला सडक चौडा हुनु, जथाभावी मदिरा खान नपाउनु, विद्यार्थीहरू सुरक्षित विद्यालय जान पाउनु, दुर्घटना कम हुनु सहरवासीका लागि खुसीको कुरा हो। हामीजस्ता व्यक्तिले नै सबै कुरा बिग्रिएको छैन है भनेर सन्देश दिने हो।

No comments:
Post a Comment