Wednesday, March 21, 2012

'छोराछोरी स्कुलबाट निकालिए' 'कसैले सहयोग गरिदिए म पढ्ने थिए'

काठमाडौं, चैत्र ९ -
दुई महिना थापाथलीको ब्लु क्रस अस्पताल बस्दा १२ लाख सकियो ।'  
 दुर्घटनामा उपचार गर्दा गर्दै सबै सम्पत्ति सकिएपछि ३५ वर्षे मोहम्मदिन शेखका छोराछोरी विद्यलायबाट निकालिएका छन् । जडिबुटिमा बस्दै आएका शेख एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परे । उपचारमा पैसा सकियो । आम्दानीको स्रोत गुम्यो । 'छोराछोरी स्कुलबाट निकालिए', उनकी श्रीमती रेनुले भनिन्, 'कोटेश्वस्थित नवजीवन शिशु निकेतनमा पढिरहेका दुई छोराछोरी पैसा तिर्न नसक्दा निकालिएका हुन् ।
पटकपटक अनुरोध गर्दा पनि निशुल्क पढाउन स्कुलले मानेन ।' कोठाको भाडासमेत दुई महिनादेखि तिर्न नसकेको उनले गुनासो गरिन् ।
कक्षा आठमा पढ्दै आएका छोरा रोजनले आफुलाई अत्यन्तै पढ्ने चाहाना भएपनि बाबुको उपचार गर्दा गर्दै बेखर्ची भएकाले पढ्न नपाएको गुनासो गरे । 'कसैले सहयोग गरिदिए म पढ्ने थिएा' उनले भने, 'साथीहरुले किन स्कुल नआएको भनेर दिनहु सोध्छन्, पैसा तिर्न नसकेर कसरी भन्नु ।'
पाल्पा तानसेनका शेष दुई पटक बैदेशिक रोजगारीमा दुवई र साउदी गएर फर्केका हुन् । काठमाडौंमा उनी लाजिम्पाटस्थित शिखर मेनपावरमा काम गरिरहेका थिए । 'मासिक ३० हजार भन्दा बढी कमाइ हुने भएकाले जिन्दगी राम्ररी चल्दै आएको थियो । छोराछोरी पढाउन, चाहे अनुसार खान लाउन कुनै समस्या थिएन, उपचार गराउँदा गराउँदै सबै सकियो' रेनु सुनाउँछिन् ।  
०६७ फागुन २५ गते कार्यालय जाँदैगर्दा दरबारमार्गमा शेखको मोटरसइकललाई पछाडीबाट आएको मोटरसाइकलले ओभरटेक गर्‍यो । उनी बीचबाटोमा पछारिए । पछाडीबाट आएको अर्को मोटरसाइल उनको जीउमाथिबाट गुड्यो जसका कारण उनी उठ्नै नसक्ने गरी थलिए । उनको खुट्टाको हड्डी पूरै भााचिएको छ । 'दुर्घटनाको १३ दिनपछि होस आयो', श्रीमती रेनुले भनिन्, '४१ दिनसम्म भेन्टिलेटरमै राख्नुपर्‍यो । दुई महिना थापाथलीको ब्लु क्रस अस्पताल बस्दा १२ लाख सकियो ।' 
दुर्घटनाले हिड्न र बोल्न नसक्ने अवस्थामा रहेका शेखको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । रेनुका अनुसार पैसा नभएकाले नै उपचार गराउन ढिलाइ भइरहेको छ । बाँया खुट्टाको शल्यक्रिया गर्न नर्भिक अस्पतालमा पुर्‍याएका थियौं, धेरै खर्च लाग्छ भनेर  फर्कायो । त्यसपछि धुलिखेलमा बाँया खुट्टाको शल्यक्रिया गरियो । धुलिखेल अस्पतालले दाँया खुट्टाको शल्यक्रियाका लागि बीएण्डबी अस्पताल लाने सल्लाह दिएको छ । 'हालसम्म उपचारका लागि १८ लाख सकिसकयो अब हामीसंग अस्पताल लाने पैसा छैन,' रेनुले भनिन्, 'सहयोगको अपेक्षामा छौं ।'
नवजीवन शिशु निकेतनकी पि्रन्सीपल सीता बीसीले नीजी विद्यालय भएकाले निशुल्क पढाउन नसक्ने बताइन् । 'पहिलेकै ३५ हजार रुपैयाँ तिर्न बाँकी छ, हामीले दुई/दुई जनालाई निशुल्क पढाउन सक्दैनौ भनेकै हो' उनले भनिन्, 'केही महिना शुल्क नलिइ पढाएकै हौ उहाँहरु कापी किताव समेत किन्ने पैसा छैन भन्नुहुन्छ कसरी पढाउनु ।'

No comments:

Post a Comment