Saturday, March 24, 2012

मकैको घोघामा दाना छैन खोया मात्रै


मकैको घोघामा दानामा नलागेपछि राहतका लागि आन्दोलित मकै किसानले शनिबारदेखि आन्दोलन स्थगित गरेका छन् ।
नेपाल कृषक हकहित समिति र कृषि विकास कार्यालय बाराबीच शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको नेपाल कृषक हकहित समितिका केन्द्रीय अध्यक्ष हाजी रसुल अन्सारीले बताए ।

छलफलमा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन कृषि तथा सहकारी मन्त्रालयमा सिफारिस साथ अनुरोध गर्ने, जिल्ला कृषि विकास कार्यालय बाराले मकैमा दाना नलागी
पुग्नगएको क्षतिको विवरण संकलन गर्न चैत १४ गतेदेखि प्राविधिक टोली खटाउने, विगतका वर्षमा क्षतिपूर्ति दिन बाँकी रहेको रकम उपलब्ध गराउन पहल गर्ने लगायतका बुँदामा सहमति भएपछि आन्दोलन स्थगित भएको उनले जनाए ।
छलफलमा बाराका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक दानसिह बोहरा, जिल्ला कृषि कार्यालयका प्रमुख महेन्द्र चौधरी, नेपाल कृषक हकहित कृषक समितिका केन्द्रीय अध्यक्ष हाजी रसुल अन्सारी लगायतकाको उपस्थिति रहेको थियो ।
पीडित कृषकको लगत संकलन गरी क्षतिपूर्ति दिनुपर्ने माग राखी नेपाल कृषक हकहित कृषक समिति तथा मकैबाली पीडित संघर्ष समिति निजगढको अगुवाइमा पीडित मकै किसानले चरणबद्ध आन्दोलन सुरु गरेका थिए ।
जुलुसका सहभागीले बीउ विजन कम्पनीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका हुन् ।
बाराको फत्तेपुर, भरतगन्ज सिंगौल, रतनपुरी, मनहर्वा, प्रष्टोका डुमरबाना, इनर्वासिरा निजगढ लगायतका गाविसमा करिब ३ हजार हेक्टरमा लगाइएको मकै खेतीमा यो समस्या देखा परेको छ ।
निजगढमा उन्नतजातको मकैको बिउ एक्स ९२ मा समस्या देखिएको हो । यस सम्बन्धमा एक्स ९२ को उत्पादक सिडटेक कम्पनीको एक टोलीले निजगढमा गरेको अनुसन्धानमा यस समस्याले मकै उत्पादनमा ३५ देखि ४० प्रतिशतसम्म कमी आउने अनुमान गरेको छ ।
यसैगरी रामपुर चितवनको अनुसन्धान टोलीले विस्को र एक्स ९२ जातको मकैको मूल समस्या उत्तरी पात डढुवा रोग देखिएको र जसले गर्दा उत्पादनमा ६० देखि ७० प्रतिशत कमी आउने देखिएको जनाएको छ ।
रामपुरको टोलीले निजगढ, मनहर्वा, डुमरवाना लगायतमा अनुसन्धान गरेको हो । टोलीले टि एक्स ३६९ जातको वर्णशंकर मकैमा पनि कम दाना लागेको जनाएको छ ।

No comments:

Post a Comment