
अभिनेत्री रेखा
थापालाई लाग्छ, ‘रिसाएको बेला
म काली चण्डी देखिन्छु।' हाल ‘जाउँ हिँड पोखरा'को सुटिङमा व्यस्त उनी यही फिल्मको दौरानमा
धेरैपटक रिसाइसकेकी छिन्। परिस्थिति अनुसार उठ्ने क्षणिक रिसको बेला कसैले फकाइदियोस् भन्ने
चाहना उनमा पैदा हुन्छ।
‘काममा जति हतार भयो त्यति नै बिग्रने सम्भावना हुन्छ। त्यस्तो बेला हैरानी र रिस एकैचोटि उत्पन्न हुन्छ,' उनले भनिन्। प्रायः उनको रिसको अवधि आधा घन्टा हुन्छ। रिसले खराब असर गर्ने भए पनि उनी यसलाई कन्ट्रोल गर्न अक्षम छिन्। ‘म एकदम मुडी छ। त्यसै झनक्क रिस उठ्छ। कहिलेकाहीँ फोनमा पनि झर्केर बोलिदिन्छु,' उनले बताइन्।
‘अन्दाज' फिल्मको सुटिङमा उनले अपशब्द बोल्ने केही केटाहरूलाई नराम्ररी गाली गरेकी थिइन्। अरुले बिना कारण दुःख दिँदा रिसाउने उनको अनुहार रिस उठ्दा कालो हुन्छ। आँखा ठू-ठूला हुन्छन्। अनि एक्लै भुतभुताउन थाल्छिन्। ‘मेरो रिसले कसैलाई हानी चाहिँ गर्दैन,' उनले दावी गरिन्।
रिसको सुरमा ६ वर्षअघि उनले फिल्म क्षेत्रकै एक मानिसलाई समेत पिटेकी थिइन्। ‘हिरोलाई मात्र भाउ दिने त्यस्ता मानिसलाई पिट्नै पर्ने भएर पिटेकी हुँ,' उनले खुलाइन्। रिसलाई सम्हाल्न उनी एक छिन एक्लै बस्छिन्। आत्मालोचना गर्छिन्। अर्की अभिनेत्री झरना थापालाई खासै रिस उठ्दैन। त्यसैले पनि उनको रिस कडा छ। ‘सकभर रिसाउँदिन। रिसाएपछि जोसँग रिस उठेको हो, कहिल्यै फर्केर हेर्दिनँ,' उनले भनिन्। उनले पनि फिल्म क्षेत्रका दुई जनालाई रिसको झोकमा पिटेकी छिन्। गल्ती नगर्दा पनि इस्यु बनाएपछि उनले हात हालेकी हुन्। ‘रिसाएको बेला अनुहार कालो हुन्छ। चुपचाप हुन्छु,' उनले भनिन्। कामको तनावमा पनि रिस उठ्ने परिस्थिति सकभर उनी आउन दिँदैनन्। रिसलाई शान्त गर्न गीत सुन्दै एक्लै बस्छिन् उनी।
अभिनेत्री निशा अधिकारी आफूलाई सही नलाग्ने कुरामा बढी रिसाउँछिन्। ‘एकछिन उठ्छ र चाँडो सेलाउँछ,' उनले सुनाइन्। रिसलाई नकारात्मक रूपमा भन्दा पनि इखको रूपमा उनी लिन्छिन्। रिस उठ्ने वातावरणबाट केही सिक्ने उनको चाहना हुन्छ।
‘सामान्यतया दुवैले माफी माग्यो भने एकछिनमै रिस मर्छ। तर त्यस्तो भएन भने मनमा इख पलाउँछ,' उनले भनिन्। उनी रिसाउँदा मुख बिगार्छिन्। बोली र आँखा ठूलो हुन्छ। कलेजको विद्यार्थी छँदा शारीरिक दुव्यवहार गर्न खोज्ने एकजना केटालाई उनले झापड नै हानेकी छिन्।
‘विशालबजारमा किनमेलको लागि जाँदा पछाडिबाट कसैले मेरो नितम्ब छोए जस्तो लाग्यो। फेरि त्यही कुरा दोहोरिएपछि पछाडि फर्केर झापड हानेकी थिए,' उनले सम्भि्कइन्। रिसाएको बेला उनी सकारात्मक कुरातर्फ ध्यान घुमाउने गर्छिन्।
हाल भोजपुरी फिल्ममा व्यस्त अभिनेत्री गरिमा पन्तलाई एकदम कम रिस उठ्छ। उनी आफूलाई उठेको रिस अरूसामु देखाउने गर्दिनन्। ‘परिवार र नजिकका साथीहरूलाई मात्र रिस देखाउने गर्छु। कसैसँग नबोली कोठामा गएर सुत्छु,' उनले भनिन्।
पाँच वर्षअघि उनले पनि एक जनालाई दुर्व्यवहार गरेबापत झापड हानेकी थिइन्। ‘रिसाउँदा कसैको फोन उठाउँदिन। अँध्यारो मुख लगाएर चुपचाप बस्छु। म रिसाएको कसैले थाहा नै पाउँदैन पनि,' उनले बानीबारे अवगत गराइन्।
अर्की अभिनेत्री रिमा विश्वकर्मा पनि कम रिसाउनेमै पर्छिन्। आफूले सोचे जस्तो परिस्थिति भएन भने मात्र उनी रिसाउने गर्छिन्। ‘म रिसाए पनि अर्कालाई देखाउँदिन। चुपचाप लागेर बस्दिन्छु। घरमा चाहिँ घुर्की लगाइहाल्छु,' उनले भनिन्।
No comments:
Post a Comment