स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुनस् सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । तर दैनिक जीवनमा नियमित थोरै मात्र ध्यान दिन सके स्वास्थ्य बिग्रन पाउँदैन र, निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा पैसा खर्च पनि गरिरहनु पर्दैन । हाम्रै भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको सुरक्षित प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ ।
के तपाईँ घुंडा-जोर्नी दुख्ने रोगबाट पीडित हुनुहुन्छ? तपाईँलाई रुघा-खोकीले कतिको सताउँछ आज-भोलि? यसको औषधी तपाईकै घरको चुल्हो वरिपरी छ। बेसार, जसलाई अंग्रेजीमा turmeric नामबाट चिनिन्छ। बेसार हाम्रो समाजमा यति प्रसिद्ध छ कि हाम्रो आँखाले बेसार बिनाको तरकारी वा अचार हेर्न रुचाउँदैन। यसको प्रयोग हाम्रो समाजमा वा अन्य एसियन मुलुकमा करिब २००० वर्ष अघिबाट सुरु भएको अनुमान गरिन्छ। यसले शरीरलाई गर्मी प्रदान गर्ने अनि कफ र पीतबाट बचाउने आयुर्वेदको ठहर छ। त्यसैले हामी रुघा-खोकी हुँदा विशेष गरी जाडो याममा १-२ चम्चा बेसार दूधसँग खाने गर्दछौँ। यसले रगत सफा गर्ने अनि छाला सम्बन्धी रोगको निदान गर्ने विश्वास गरिन्छ। बेसारमा सूक्ष्म-जीवाणु मार्ने (anti-bacterial) विशेष पदार्थ भएकाले नै यसलाई विभिन्न खाद्य पदार्थहरु रंगाउने काममा प्रयोग भएको हुनु पर्दछ। यसरी यसले खाद्य-पदार्थलाई ताजा बनाई राख्दछ। अर्को तर्फ, यो एउटा प्राकृतिक विष-निरोधक (de-toxifier) पनि हो, जसले पीत्तको उत्पादन बढाई विषादी पदार्थलाई शरीरबाट निस्कासन गर्न मदत गर्दछ।
प्रश्न उठ्छ, हामी भोजनको माध्यमबाट नियमित बढीमा कति बेसार ग्रहण गर्दछौ त? हामीहरुले प्रतिदिन विभिन्न माध्यमबाट (मसला वा औषधीको रुपमा) करिब २-२.५ ग्राम सम्म बेसार लिने विश्वास गरिन्छ ।त्यसैले दिनहुँ १-२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन। यसमा कुनै विषादी असर हुँदैन। बरु बेसारको गुणस्तर चाहीँ पहिचान गर्नु पर्दछ। तितो भएकाले पत्याउन गाह्रो पर्ला, तर यसको उपयोगितालाई बुझेर नै आज भोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। एक रिपोर्ट अनुसार अमेरिकामा मात्र करिब २४०० मेट्रिक टन बेसार प्रति वर्ष आयात गरिन्छ, जुन अनुसन्धान अनि ब्यापारीक प्रयोगका लागि खपत हुन्छ।

No comments:
Post a Comment